धनकुटा, असोज ४ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ८ः१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छथर जोरपाटी–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सुमो चालक धनकुटा–९ का ३१ वर्षीय खगेन्द्र खत्रीसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये आशिष लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्