जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १४:०४

शंकर र बादल दुवैले अनुशासन तोडेपछि एमालेमा तनाव : बिवादले लम्बियो कार्यदल बैठक, सर्यो सचिवालय


काठमाडौं, असोज ४ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएको छ । बैठक नटुंगिएपछि दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको छ ।

एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदल बैठक सकेरमात्र सचिवालय बस्ने कारण समय सरेको हो । कार्यदल बैठक बिहान ९ बजेदेखि जारी रहेको छ ।

कार्यदल संयोजक रामबहादुर थापा (बादल) र महासचिव शंकर पोखरेलद्वारा तयार पारिएको प्रतिवेदन कार्यदलको बैठकमा छलफल अगावै बाहिर ल्याएपछि एमालेमा मतभेट बढेको छ । महासचिव पोखरेलले आफ्नो बिचारलाई कार्यदलको प्रतिवेदन भन्दै आफू निकट पत्रकारलाई दिएको आरोपसँगै संयोजक बादलको प्रतिवेदन पनि बाहिर सार्वजनिक गरिएको थियो ।

केन्द्रीय कार्यालय प्रमुख रहेका महासचिव र कार्यदल संयोजकले नै अनुशासनहीन काम गरी छलफल पहिला प्रतिवेदन सार्वजनिक गरी चरम अवसरवाद र प्रपोगाण्डा मच्चाएको ठहरसहित नेता प्रदीप ज्ञवालीले अर्काे प्रतिवेदन पेश गरेपछि कार्यदलमै तनाव देखिएको छ ।

कार्यदलमा आफ्नो बहुमत रहेको भन्दै महासचिव पोखरेलले एकलौटी गरी नेतृत्व कब्जा गर्ने पूर्वयोजनाअनुसारको रणनीति अघि सारेको ज्ञवाली समहको आरोप छ । गत महाधिवेशनमा केपी ओलीको १० बर्ष बिकल्प छैन, ओलीको बिरोध गर्नेहरू एमाले हुनै सक्दैनन भन्ने घोषणा गरी ज्ञवालीलाई रोकेर आफै दोस्रो पटक महासचिव बन्नुभएका पोखरेलले नै ओली हटाउने अभियान चलाएपछि एमाले केन्द्रीय कमिटीको बहुमत बैठक अघि नै ओलीतिर खुलेको छ ।

यो तथ्यसँगै ज्ञवालीले पोखरेललाई सिधै काउन्टरसहित प्रतिवेदन लेख्नुभएको छ । आजको बैठकमा पोखरेल र थापाले सार्वजनिक गरिसक्नु भएको दुई प्रतिवेदनको निष्कर्ष निकाल्ने गरी बैठक तय गरिएपछि पूर्वउपमहासचिव ज्ञवालीले हिजो तेस्रो प्रतिवेदन पेश गर्नुभएको थियो ।

अहिले पार्टी कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा तीन प्रतिवेदनबारे पेचिलो ढंगले छलफल भइरहेको कारण बैठक लम्बिएको हो । कार्यदलको प्रतिवेदन फाइनल गरेपछि मात्र सचिवालय बैठक बस्ने एमालेले जनाएको छ ।