जनता टाइम्स

४ आश्विन २०८३, आईतवार १४:०८

बैठक बस्न नसकेपछि पार्टी कार्यालयबाट निस्किए केपी ओली


काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिनुभएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बस्न नसकेपछि अध्यक्ष ओली करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिनुभएको हो। उहाँ दिउँसो १ बजे पार्टी कार्यालय पुग्नुभएको थियो।

१ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ। बैठक सर्नुको कारणबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

एमालेभित्र पछिल्लो समय नेतृत्व र पार्टी संरचनालाई लिएर आन्तरिक विवाद देखिएको छ। महासचिव शंकर पोखरेलले नेतृत्व छाड्नुपर्ने विषयमा समेत दबाब बढिरहेको बताइएको छ।

यसैबीच, अध्यक्ष ओलीले आफ्नो पक्षको बचाउमा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीको नाममा प्रतिवेदन तयार गराएको बताइएको छ। सचिवालय र केन्द्रीय कमिटीमा नेतृत्वको पक्ष–विपक्षमा बहस भइरहेका बेला आइतबारको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।