काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताउनुभएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताउनुभएको हो ।
पार्टीभित्र दुई पक्षले १५औँ महाधिवेशनका लागि समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र सीमित नरहने धारणा राख्नुभएको छ । उहाँले वर्तमान विषम परिस्थितिमा कांग्रेस विभाजन हुँदा नेपालको लोकतन्त्रमा समेत गम्भीर प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुभएको छ । सोही कारण सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको उहाँले स्पष्ट पार्नुभएको छ ।
विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको तर महाधिवेशन रोक्न आदेश नआएपछि कांग्रेसका नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काको भनाइ छ ।
उहाँले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्यांकन गर्दै अग्राधिकारका साथ यथाशीघ्र टुंगो लगाउन आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतबाट आउने अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुने पनि उहाँले बताउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्