काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताउनुभएको हो ।
पत्रकारितामा कसैसँग प्रश्न सोध्नुअघि अनुमति लिने र प्रश्नको जवाफपछि त्यसलाई प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिसँग सोध्ने अभ्यास रहेको ओलीले बताउनुभएको छ ।
सञ्चारकर्मीले माइक लिएर मुखमा घोच्ने शैलीमा प्रश्न गर्ने गरेको भन्दै उहाँले त्यस्तो अभ्यास नगर्न सुझाव दिनुभएको छ ।
आइतबार बिहान एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाएको थियो । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सचिवालय बैठक स्थगित भएको हो भन्ने प्रश्न गरेपछि ओलीले त्यसको प्रत्यक्ष जवाफ दिनुको सट्टा पत्रकारिताको अभ्यास र मर्यादाबारे सुझाव दिनुभएको हो ।












प्रतिक्रिया दिनुहोस्