काठमाडौं, असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधान असफल बनाउन आन्तरिक तथा बाह्य विभिन्न शक्ति सक्रिय रहेको दाबी गर्नुभएको छ ।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले संविधानमाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको हो । उहाँले वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने दाबी गर्नुभएको छ ।
कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रमा फस्न सक्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनबाट प्राप्त गरेका अधिकार र उपलब्धि गुम्न सक्ने उहाँले बताउनुभएको छ ।
केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई निरन्तर उपेक्षा गर्दै आएको आरोप लगाउँदै सिंहले मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने प्रयास भइरहेको दाबी गर्नुभएको छ ।
आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने उहाँले बताउनुभएको छ । मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइका आधारभूत आवश्यकता अझै कमजोर अवस्थामा रहेको उहाँको भनाइ छ ।
मधेशमा हालसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको टिप्पणी गर्दै सिंहले मधेशका वास्तविक समस्या, जनअपेक्षा र विकासका चुनौती प्रत्यक्ष रूपमा बुझ्न आगामी छठ पर्वको अवसरमा जनकपुरधामबाट ‘मेची–महाकाली पैदल यात्रा’ सुरु गर्ने घोषणा गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्