काठमाडौं, असोज ४ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले राजनीतिक संरक्षणका आधारमा सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन नहुने बताउनुभएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका आफ्ना सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन गरेको आरोप लगाउनुभएको छ । ठगीमा संलग्न व्यक्तिलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उहाँको दाबी छ ।
ज्ञवालीले एमालेसँग जोडिएका र सहकारी ठगीमा संलग्न भएको पुष्टि भएका व्यक्तिमाथि पार्टीले कारबाही गरेको दाबी गर्नुभएको छ । उहाँले इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीलाई कारबाही गरिएको उल्लेख गर्नुभएको छ ।
राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गर्दै राज्यका निकायलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभएको छ । तर, आफ्ना सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर उपद्रव मच्चाएको आरोप उहाँले लगाउनुभएको छ ।
सहकारी ठगीबाट सबैभन्दा बढी साना बचतकर्ता पीडित भएको उहाँले बताउनुभएको छ । सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा समस्या बढाएको उहाँको भनाइ छ ।
सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा ज्ञवालीले जोड दिनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्