जनता टाइम्स

४ आश्विन २०८३, आईतवार २०:०५

एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने सहमति


काठमाडौं, असोज ४ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति गरेको छ ।

सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार अपराह्न बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन अनुमोदन गरेको छ । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले पेस गर्नुभएको प्रतिवेदनलाई सचिवालय बैठकले अनुमोदन गरेको हो ।

उपाध्यक्ष थापा र महासचिव पोखरेलले तयार पार्नुभएका छुट्टाछुट्टै प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन तयार गरिएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले देशभरबाट प्राप्त सुझावसमेत समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिनुभएको बताइएको छ ।

प्रतिवेदनबाट ‘ओलीको तत्काल राजीनामा’ भन्ने शब्द हटाइएको छ । देशभरबाट प्राप्त सुझावलाई भने प्रतिवेदनको अनुसूचीमा राखिएको छ ।

सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका सबै एजेन्डा तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।