जनता टाइम्स

५ आश्विन २०८३, सोमबार ०७:१७

बाढीको पूर्वसूचनालाई सामान्य ठान्दा ठूलो क्षति, धेरैले गुमाए ज्यान जोगाउने अवसर


काठमाडौं, असोज ५ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पूर्वसूचना पाए पनि त्यसको गम्भीरता बुझ्न नसक्दा धेरैले सुरक्षित स्थानमा पुग्ने अवसर गुमाएका छन्।

भदौ १० गते रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएको सूचना नदी किनारका बस्तीमा पुगेको थियो। तर, बाढीको वास्तविक आकार र गति अनुमानभन्दा निकै ठूलो भएकाले सूचना पाएका कतिपय स्थानीय सुरक्षित स्थानमा पुग्न नपाउँदै बाढीको भेलमा परेका थिए।

विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेलले बाढी आउँदै गरेको सूचना पाए पनि आफ्नो घरसम्म ठूलो क्षति नपुग्ने अनुमान गर्नुभएको थियो। प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेपछि पनि बाढीको गम्भीरता अनुमान गर्न नसकिएको उहाँले बताउनुभयो।

केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढेपछि बाढीले घरलाई चारैतिरबाट घेरेको थियो। प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरेका थिए।

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि बाढी आउने सूचना पाएर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको थियो। तर, बाढीको अवस्था बुझ्न नदी किनारतर्फ जाने क्रममा उहाँ आफैं बाढीको भेलमा पर्नुभएको थियो। केही सेकेन्डको अन्तरमा ज्यान जोगिएको उहाँले बताउनुभयो। बाढीमा परी उहाँको खुट्टाको मांसपेशीमा चोट लागेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको अवस्था भने अझ दुःखद बनेको छ। टिमुरेबाट बाढी अघि बढेको सूचना पाएपछि उहाँ खाल्डे र सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारलाई खबर गर्न पुग्नुभएको थियो। तर, सूचना फैलाउन थालेको करिब १० मिनेटमै बाढी बस्तीमा आइपुगेको थियो।

तामाङले बाढीबाट आफू जोगिए पनि बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाउनुभएको छ। उक्त बस्तीका १०० भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्।

बाढीको सूचना नदी किनारका बस्तीमा पुगे पनि त्यसबाट हुन सक्ने क्षतिको वास्तविक आकार धेरैले अनुमान गर्न नसकेको स्थानीयको भनाइ छ। टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीबाट प्रभावित भएका थिए।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण हुन्छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ।

सफा मौसम र घाम लागिरहेको अवस्थामा ठूलो बाढी आउँदैछ भन्ने सूचना दिँदा धेरैले त्यसलाई तत्काल विश्वास गर्न नसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार मानवीय क्षति कम गर्न सूचना कति छिटो पुग्यो भन्ने मात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ।

भोटेकोशी–त्रिशूली बाढीले विपद्को पूर्वसूचना प्राप्त भएपछि त्यसलाई सामान्य रूपमा नलिई तत्काल सुरक्षित स्थानमा जानुपर्ने आवश्यकता देखाएको छ। समयमै सूचना पाएर पनि जोखिमको वास्तविकता बुझ्न नसक्दा धेरैले ज्यान र सम्पत्ति जोगाउने अवसर गुमाएका थिए।