काठमाडौं, असोज ५ । मनास्लु हिमालमा हिमपहिरोमा परी नेपाली गाइडसहित दुई जनाको मृत्यु भएको छ।
मनास्लुको तेस्रो शिविरमा टेन्टभित्र रहनुभएका भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।
अभियान आयोजकका अनुसार उहाँहरू शनिबार मनास्लुको तेस्रो शिविर पुग्नुभएको थियो। त्यसपछि मौसम प्रतिकूल बन्दै गएसँगै उच्च क्षेत्रमा भारी हिमपात र हावाहुरी चलेको थियो। सोही क्रममा राति आएको हिमपहिरोले उहाँहरू बसेको टेन्ट पुरेको थियो।
आइतबार बिहान उहाँहरूसँग सम्पर्क हुन नसकेपछि उद्धार टोली तेस्रो शिविरतर्फ पुगेको थियो। उद्धार टोलीले करिब सात फिट नयाँ हिउँले पुरिएको टेन्टभित्र दुवै जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
मौसम बिग्रिएपछि अधिकांश आरोही उच्च शिविरबाट तल झर्नुभएको थियो। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेर आरोहण अघि बढाउने प्रयासमा रहनुभएको थियो।
उहाँहरूको शव उद्धार गरी आधार शिविर हुँदै हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।
यो घटनासँगै यस वर्ष मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ उई सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो। त्यस्तै, २० वर्षीय नेपाली आरोहण सहयोगी तासी शेर्पा पनि टेन्टभित्र मृत भेटिनुभएको थियो।
मनास्लुमा यस वर्षको आरोहण मौसम सुरुदेखि नै चुनौतीपूर्ण देखिएको छ। केही दिनअघि तेस्रो शिविरमाथि आएको हिमपहिरोका कारण डोरी फिक्सिङको कामसमेत प्रभावित भएको थियो। पछि डोरी फिक्सिङ टोलीले ८ हजार १६३ मिटर अग्लो मनास्लुको शिखरसम्म पुगेर आरोहण मार्ग खुलाएको थियो।












प्रतिक्रिया दिनुहोस्