जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १३:०७

चिकित्सकमाथि हातपातको आरोपमा टिकटकर सुधिरासहित दुई जना पक्राउ


जनकपुरधाम, असोज ५ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन र औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज १ गते बर्थिङ सेन्टरमा प्रसूति सेवाका लागि आएकी महिलाका आफन्तले ड्युटीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोज साहमाथि हातपात गरेका थिए। घटनाको जानकारी पाएपछि पुगेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएपछि चिकित्सकले सम्भावित जोखिमबारे जानकारी दिँदै आफन्तलाई सहमतिपत्रमा हस्ताक्षर गर्न आग्रह गर्नुभएको थियो। सोही विषयमा विवाद भएपछि चिकित्सकमाथि हातपात भएको अस्पतालले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताउनुभएको छ।

प्रहरीले उनीहरूमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिकटकर सुधिराले जनकपुरधामको बजरंग चोकमा होटलसमेत सञ्चालन गर्दै आउनुभएको छ।