जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १७:५८

त्रिपुरेश्वर बस आगलागी घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन


काठमाडौं, असोज ५। त्रिपुरेश्वरमा सार्वजनिक बसमा भएको आगलागी घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।

रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो। समितिलाई घटनाको विस्तृत छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

रिद्धीसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी हुँदा चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते हुनुभएको थियो। प्रहरीको उद्धारपछि उहाँलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीका अनुसार बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

तर आगलागीको वास्तविक कारण र घटनाको सम्पूर्ण परिस्थितिबारे छानबिन समितिको प्रतिवेदनपछि मात्रै निष्कर्षमा पुग्न सकिने प्रहरीले जनाएको छ।