जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:००

बसमा आगलागी : जरिबानाको विषयमा ट्राफिक प्रहरी र चालकबीच भएको थियो विवाद


काठमाडौं, असोज ५ । काठमाडौंको त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिबानाको विषयमा विवाद भएको खुलेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामाले आफूले गल्ती नगरेको भन्दै जरिबाना तिर्न अस्वीकार गर्नुभएको सुनिन्छ। उहाँले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भन्दै आक्रोश व्यक्त गर्नुभएको भिडियोमा देखिन्छ।

प्रहरीका अनुसार त्यसको केही समयपछि बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा चालक लामा गम्भीर घाइते हुनुभएको छ। प्रहरीले उद्धार गरी उहाँलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको अवस्था चिन्ताजनक रहेको छ।

भिडियोमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले चालकलाई जरिबानाको चिट काट्न खोजेको देखिन्छ। तर चालकले आफूले कुनै गल्ती नगरेको भन्दै जरिबाना तिर्न नमानेको सुनिन्छ।

बस सडकको बीच भागमा रोकिएको भन्दै ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मीले बसलाई साइड लगाउन आग्रह गरेकोसमेत भिडियोमा सुनिन्छ। त्यस क्रममा चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफी मागिसकेको भए पनि जरिबाना तिराउन खोजिएको गुनासो गर्नुभएको छ।

जरिबाना तिर्नुपर्ने ट्राफिक प्रहरीको भनाइ र आफूले जरिबाना नतिर्ने चालकको अडानबीच विवाद चर्किँदै गएको भिडियोमा देखिन्छ। त्यसक्रममा चालकले आफू काम गरेर खाने व्यक्ति भएको र आफू मर्नसमेत तयार रहेको बताउनुभएको छ।

विवादपछि केही समयमै बसको पछिल्लो भागबाट आगो दन्किएको भिडियोमा देखिन्छ। आगलागीको वास्तविक कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।