जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:०३

सरकारलाई सांसद केसीको प्रश्न : आफ्नै मान्छे फस्ने डरले जेनजी आन्दोलनको प्रतिवेदन लुकाइएको हो ?


काठमाडौं, असोज ५। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा सरकारसँग प्रश्न गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले नागरिकका समस्या समाधान गर्नुपर्ने सरकार नै अलमलिएको टिप्पणी गर्नुभयो। उहाँले रसुवा र नुवाकोटका बाढीपीडित अझै बिचल्लीमा रहेको भन्दै चाडबाडको मुखमा अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले संसदीय विशेष समिति तत्काल गठन गर्न माग गर्दै विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन हुनु दुःखद भएको बताउनुभयो।

सांसद केसीले भदौ २४ गते भएको विध्वंसात्मक घटनाको छानबिन गर्न तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्नुभयो।

जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाउँदै उहाँले आफ्ना मानिस फस्ने डरका कारण प्रतिवेदन लुकाइएको हो कि भन्ने प्रश्न गर्नुभयो।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचनाको हकमाथिको आक्रमण मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठामाथि समेत असर पार्ने उहाँको भनाइ थियो।

उहाँले आयोगका सिफारिस कार्यान्वयन नभएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै त्यसलाई संविधान र विधिको शासनविपरीतको प्रवृत्तिका रूपमा व्याख्या गर्नुभयो।

यसअघि पनि सांसद केसीले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गर्दै आउनुभएको छ।