जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १८:१४

भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयो : अध्यक्ष ओली


काठमाडौं, ५ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाउनुभएको छ।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको हो।

उहाँले भदौ १० गते आएको भोटेकोशी बाढी आफ्नो पुस्ताले देखेको र भोगेकोमध्ये असाधारण विपद् भएको बताउँदै विपद्को समयमा एमालेले जनताको पीडामा राहत पुर्‍याउन अन्य दलको तुलनामा बढी ठोस काम गरेको दाबी गर्नुभयो।

उद्धार तथा राहतमा पार्टीका कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ओलीले सरकार भने अफवाह फैलाउन र राज्यका स्रोत–साधनको दुरुपयोग गर्न केन्द्रित भएको आरोप लगाउनुभयो।

उहाँले बेली ब्रिज निर्माणका विषयमा समेत सरकारले जनतालाई भ्रममा पारेको दाबी गर्नुभयो। बेली ब्रिज निर्माण नभए पनि निर्माण भइसकेको भन्दै प्रचार गरिएको, एआईबाट तयार गरिएका तस्बिर तथा नक्सा प्रयोग गरिएको र एउटा खोलामा राखिएको पुलको तस्बिरलाई त्रिशूलीको भन्दै प्रचार गरिएको उहाँको आरोप छ।

अध्यक्ष ओलीले त्रिशूलीमा बेली ब्रिज राखिएको भनिए पनि वास्तविक रूपमा त्यहाँ पुल जडान नभएको दाबी गर्नुभयो।

विपद्को समयमा प्रचारभन्दा तथ्यमा आधारित सूचना, प्रभावकारी उद्धार तथा वास्तविक पुनःस्थापनामा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो।

भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न निर्णय तथा संयन्त्र परिचालन गरेको जनाएको छ। प्रभावित क्षेत्रका लागि राहत तथा पुनर्निर्माणसम्बन्धी थप समन्वय गर्न सर्वदलीय बैठकले संसदीय विशेष समिति गठन गर्ने निर्णयसमेत गरेको छ।