जनता टाइम्स

५ आश्विन २०८३, सोमबार २१:२९

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, पूर्वसतर्कता अपनाउन आग्रह


काठमाडौं, असोज ५ । असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशसहित केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै गण्डकी र लुम्बिनीका केही भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसको प्रभाव बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी, भू–क्षय तथा गेग्रान बग्ने जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण खोला तथा नदीमा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।