जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार ०७:४९

त्रिपुरेश्वर बस आगलागीका घाइते चालकको मृत्यु, पहिचान अझै खुल्न सकेन


काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते हुनुभएका चालकको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालकको आज बिहान मृत्यु भएको हो। यद्यपि, मृतकको वास्तविक नाम र ठेगाना भने खुल्न सकेको छैन।

आगलागीपछि सुरक्षाकर्मी र स्थानीयवासीले चालकलाई अचेत अवस्थामा बसबाट उद्धार गरी तत्काल कीर्तिपुर अस्पताल पुर्‍याएका थिए। उद्धारका क्रममा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। 

अस्पताल पुर्‍याउँदा उहाँको शरीर ९० प्रतिशतभन्दा बढी जलेको अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार अवस्था अत्यन्तै गम्भीर रहेकाले उपचारका क्रममा उहाँको मृत्यु भएको हो।

आगलागीपछि चालकको साथमा भेटिएको लाइसेन्सका आधारमा प्रहरीले उहाँलाई दावा लामा भएको प्रारम्भिक जानकारी दिएको थियो। तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू नै सो लाइसेन्सका धनी भएको र आफू सकुशल रहेको जानकारी गराएपछि मृतक चालकले अर्कै व्यक्तिको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ। यही कारण मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको र त्यसपछि उहाँले बसमा रहेका यात्रुलाई बाहिर निकाल्नुभएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

ट्राफिक प्रहरीसँगको विवादपछि चालक आफैँले बसमा आगो लगाएको हुनसक्ने आशंका गरिए पनि घटनाको वास्तविक कारण भने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ। समितिले आगलागीको कारण, चालकको पहिचान तथा घटनासँग जोडिएका अन्य विषयमा अनुसन्धान गरिरहेको छ।