काठमाडौं, असोज ६ । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुनुहुन्छ ।
अनुसन्धानका क्रममा तामाङ २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न भएर फरार रहेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनामा उहाँले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको एसएसपी घिमिरेले बताउनुभयो ।
त्रिपुरेश्वरको घटनामा पनि उहाँले दाबा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्