काठमाडौं, असोज ६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। उहाँले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ। दोहामा छोटो समयको विश्रामपछि उहाँ भाेलि (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्नुहुने कार्यक्रम छ।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका कार्यक्रम तथा सम्बन्धित विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः जानकारी गराउनुहुनेछ।
त्यसपछि प्रधानमन्त्री शाह उहाँको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुनेछ।
प्रधानमन्त्री शाहको भ्रमणको मुख्य कार्यक्रम बिहीबार (२४ सेप्टेम्बर) हुनेछ। सो दिन उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्य तथा पारस्परिक चासोका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
महासचिव गुटेरेससँगको भेटपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। महासभाको उच्चस्तरीय सत्रमा प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपालको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत हुनेछ।
प्रधानमन्त्री शाह शुक्रबार (२५ सेप्टेम्बर) न्युयोर्कबाट कतारको दोहातर्फ प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नुहुनेछ।
प्रधानमन्त्री शाह असोज शनिबार (२६ सेप्टेम्बर) काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ। उहाँ सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुनेछ।
प्रधानमन्त्रीको यस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व, महासचिवसँगको उच्चस्तरीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रमलाई प्रमुख प्राथमिकताका रूपमा राखिएको छ।












प्रतिक्रिया दिनुहोस्