काठमाडौं, असोज ७ । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
उत्तर अण्डमान सागर तथा आसपासमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भएपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ ।
यसको प्रभावले बिहीबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने सम्भावना रहेको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ । ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने बताइएको छ ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ ।
मनसुनी प्रणालीको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई समेत उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्