जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:०९

सिद्धबाबा सुरुङमार्गमा मंसिर १५ भित्रै गाडी गुडाउने तयारी


काठमाडौं, ७ असोज । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिर १५ गतेभित्रै सवारीसाधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री ढुवानीमा ढिलाइ भएपछि सवारी सञ्चालनको तयारी करिब एक महिना पछि धकेलिएको हो । निर्माण सामग्री आएपछि बाँकी इलेक्ट्रोमेकानिकल कामलाई तीव्रता दिइने र मंसिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

हाल सुरुङभित्र सडक पिच गर्ने र रङरोगन गर्ने काम भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङ पनि जारी छ । सुरुङको लाइनिङसहित अधिकांश सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ ।

मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टको काम सम्पन्न भइसकेको छ । तीनवटा बाइपाससमेत निर्माण गरिएको छ ।

सुरुङ सञ्चालनअघि बाहिरी सडक क्षेत्रलाई पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट सुरक्षित बनाउन रकसेड, रकफल ब्यारियर र स्लोप प्रोटेक्सनको काम गरिने जनाइएको छ ।

एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । २०७९ देखि निर्माण सुरु भएको आयोजना चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा निर्माण गरिरहेको छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको पहिरो जोखिमयुक्त क्षेत्रमा यो सुरुङ निर्माण गरिएको हो । सुरुङ सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।