काठमाडौं, असोज ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो तथा सुरक्षा व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक निरौलाले बताउनुभयो ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रु जाँचपास, राजस्व सङ्कलन तथा निकासी–पैठारीका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न सहयोग पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखराबाट सुरु हुने उडानलाई दीर्घकालीन बनाउन सकिने बताउनुभयो । उहाँका अनुसार रोजगारी तथा अध्ययनका लागि दुबई जाने नेपालीलाई समेत पोखराबाट हुने उडानले सहजता प्रदान गर्नेछ ।
उडान सञ्चालनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विमानस्थलको सुरक्षा व्यवस्थाको निरीक्षणसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्