जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०७:२३

कांग्रेसको पालिका अधिवेशन आज देशभर एकसाथ हुँदै


काठमाडौं, असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन आज बुधबार देशभर एकसाथ हुँदैछ ।

स्थानीय तहमा सांगठनिक संरचना निर्माण तथा नयाँ नेतृत्व चयन गर्ने क्रममा कांग्रेसले पालिका तहको अधिवेशन गर्न लागेको हो । महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो ।

केही स्थानबाहेक अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले पालिका अधिवेशन पनि सहज र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्राकृतिक विपत्ति तथा विशेष परिस्थितिका बीच पनि निर्वाचन समितिले सांगठनिक कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाएको जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।