जनता टाइम्स

७ आश्विन २०८३, बुधबार ०९:५८

हवाई फायर गरी १०३ ग्रामभन्दा बढी हेरोइनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं, असोज ७ गते । बाँकेको नेपालगञ्जमा हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ मा हवाई फायर गरी भारतको उत्तरप्रदेश बहराइच जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राई मंगलबार राति पौने ११ बजे यूपी ४० जे ०६५७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै थिए। शंका लागेर प्रहरीले रोक्न खोज्दा मोटरसाइकल तीव्र गतिमा हुइँकाएर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो।

त्यसपछि पनि मोटरसाइकल नरोकेपछि प्रहरीले टायरमा थप दुई राउन्ड गोली प्रहार गरी राईलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए।

प्रहरीले राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ।