जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १०:०४

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं, असोज ७ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ । दुवै मन्त्रीले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्य अघि बढाउने विषयमा जोड दिनुभएको छ ।

भेटवार्ता संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा भएको हो । न्यूयोर्कमा परराष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरिरहनुभएको छ ।