काठमाडौं, ७ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक बिहान ९ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् । मंगलबारसम्म १ सय १८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखिसकेको र आज बाँकी सदस्यहरूले बोल्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बताउनुभएको छ ।
प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा पार्टी पुनर्गठन, पुनर्निर्माण तथा आगामी कार्यदिशालगायत विषयमा छलफल भइरहेको छ ।
केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालय बैठक भने भोलि बिहीबारका लागि सारिएको छ । सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ ।
सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक पनि समापन गर्ने एमालेको तयारी छ । बैठक असोज ५ गतेदेखि जारी छ ।












प्रतिक्रिया दिनुहोस्