जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १२:३१

अत्यधिक वर्षाको सम्भावनाको कारण दोलखाको कालिञ्चोकमा शुक्रबार सार्वजनिक सेवा बन्द हुने


दोलखा, असोज ७ । भारी वर्षासँगै बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने पूर्वानुमानपछि दोलखाको कालिञ्चोक गाउँपालिकाले असोज ९ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाका अनुसार उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, विद्यालय तथा मातहतका कार्यालयबाट आकस्मिक सेवाबाहेकका नियमित सार्वजनिक सेवा प्रवाह हुने छैन। वर्षाका कारण नागरिक तथा कर्मचारीको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सञ्जय सिवाकोटीले जारी गर्नुभएको सूचनामा वर्षाजन्य विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षाका लागि असोज ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। लगातारको वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा सडक अवरोधको जोखिमसमेत बढ्न सक्ने भएकाले कालिञ्चोक गाउँपालिकाले आफ्नो भौगोलिक अवस्थालाई समेत मध्यनजर गरी सावधानी अपनाएको जनाएको छ।

पहाडी तथा भिरालो भू–भागमा वर्षाका कारण जोखिम थप बढ्न सक्ने भन्दै गाउँपालिकाले विद्यार्थी, मजदुर, श्रमिक, कर्मचारी तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।

गाउँपालिकाले स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, भारी वर्षाका कारण बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले आवतजावत गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।