काठमाडौं, असोज ७। प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म हुने सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सतर्क रहन आग्रह गर्नुभएको हो ।
उहाँका अनुसार सम्भावित वर्षाका कारण सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले वर्षा भइरहेका बेला र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरिएको छ । नदी तथा खोलानजिक र बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।
उहाँले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।
यसैबीच, सम्भावित भारी वर्षाका कारण बागमती प्रदेश सरकारले पनि नदी तथा खोलानजिक, पहिरोको जोखिम भएका क्षेत्र र डुबान सम्भावित स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश सरकारले लामो दूरी तथा रातिको यात्रा सकेसम्म नगर्नसमेत अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस्