काठमाडौं, असोज ७ । जिल्ला प्रशासन कार्यालय धादिङले असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
वाग्मती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले प्रशासनले यस्तो आग्रह गरेको हो ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
यात्रा गर्नैपर्ने अवस्था भए अतिरिक्त कपडा, खानेकुरा, पानी तथा प्राथमिक उपचारका लागि आवश्यक औषधि साथमा राख्न प्रशासनले सुझाव दिएको छ ।
यात्राका क्रममा बाढीपहिरो वा सडक अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन तथा समस्या परेमा नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त क्षेत्र र नदी–खोला किनारका बासिन्दालाई वर्षाको समयमा थप चनाखो भई स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस्