जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १७:४८

उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन दिँदैनौँ : कार्यकारी निर्देशक श्रेष्ठ


काठमाडौं, असोज ७ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई वितरण गरिने विद्युत् आपूर्तिमा कटौती हुन नदिने बताउनुभएको छ ।

बुधबार पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्थामा समेत उपभोक्तालाई नियमित विद्युत् आपूर्ति गर्ने बताउनुभएको हो ।

उत्पादन र मागबीच बढ्दै गएको अन्तर व्यवस्थापन गर्नु अहिले प्राधिकरणको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । बर्खायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को व्यवस्थापन तथा विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

गुणस्तरीय र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्नु प्राधिकरणको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उत्पादनतर्फ निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजना निर्माणसँगै प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।