काठमाडौं, असोज ७ । वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाएर मात्र उडान सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनीका साथै अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको संघले जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयसँगै सहरी तथा तराई क्षेत्रमा डुबान तथा नदीमा जलसतह बढ्ने जोखिम रहेको संघले जनाएको छ । यसबाट सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गर्न संघले आग्रह गरेको हो ।
हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई समेत उच्च सतर्कता अपनाउन संघले अनुरोध गरेको छ ।
बाढी, पहिरो वा भूक्षयका कारण उद्धार आवश्यक पर्ने अवस्था आए तत्काल परिचालन हुन सदस्य वायुसेवा कम्पनीहरूलाई ‘स्ट्यान्डबाई’ अवस्थामा रहनसमेत संघले आग्रह गरेको छ ।
मौसमसम्बन्धी थप जानकारीका लागि मौसम विज्ञान विभागको नियमित पूर्वानुमान हेर्न संघले वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस्