जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १७:५५

निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो : प्रदीप ज्ञवाली


काठमाडौं, असोज ७ । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनपछि पार्टीभित्रको बहसले ध्रुवीकरण बढाएको र त्यसको असर तल्लो तहसम्म पुगेको बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको उल्लेख गर्दै त्यसको सामना गर्न राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले निर्वाचन परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र भावनात्मक विभाजन देखिएको बताउनुभयो ।

पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको तथा अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको उहाँको टिप्पणी थियो । उहाँले पार्टीका नियमित कामसमेत प्रभावित भएको बताउनुभयो ।

ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाएर अघि बढ्नुपर्ने र त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्नुपर्ने धारणा राख्नुभयो । अब आन्तरिक संघर्षभन्दा योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

एमालेमा देखिएको समस्याको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उहाँको निष्कर्ष थियो । स्थानीय तहमा देखिएको प्रतिस्पर्धा र त्यसबाट उत्पन्न द्वन्द्वलाई व्यवस्थापन गर्दै प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने विधि खोज्नुपर्ने उहाँले बताउनुभयो ।

ज्ञवालीले कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जनतासँगको सम्बन्ध मजबुत बनाउन जनजीविकासँग जोडिएका विषयमा पार्टीको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा चर्चामा आएको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’बारे स्पष्ट पार्दै उहाँले आफ्नो छुट्टै प्रतिवेदन नरहेको बताउनुभयो ।

पार्टीभित्रको असहमतिलाई सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने प्रवृत्तिले क्षणिक चर्चा पाए पनि दिगो नेतृत्व निर्माण र समस्या समाधानमा योगदान नपुग्ने उहाँले बताउनुभयो ।