जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १७:५८

पत्रकार महासंघप्रति सञ्चारमन्त्री तिमिल्सिनाको कटाक्ष


काठमाडौं, ७ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल पत्रकार महासंघप्रति कटाक्ष गर्दै कुनै एउटा संस्थाले पत्रकारिताको ठेक्का लिन नसक्ने बताउनुभएको छ ।

‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पत्रकारिता आफैंमा एउटा संस्था भएकाले यसको साख र व्यावसायिकता जोगाउने जिम्मेवारी सबै पत्रकारको भएको बताउनुभयो ।

कुनै एउटा संस्थाले पत्रकारिताको ठेक्का लिएर हिँडेको भ्रमबाट मुक्त हुनुपर्ने उहाँको भनाइ थियो । त्यस्तो संस्थाले पत्रकारिता संरक्षण गर्न सकेको भए नेपाली पत्रकारिता क्षेत्र अहिले अझ माथि पुगिसक्ने उहाँले बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले पत्रकारिताको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेको बताउनुभयो । पत्रकारिता तथा सञ्चार क्षेत्रका संस्थागत समस्या समाधान गर्न बेथिति र कमजोरीका मूल कारण पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो ।

अरबौँ रुपैयाँ बराबरको सम्पत्ति भएका सञ्चार संस्थाले समेत कर्मचारीको पेन्सन र सुविधा उपलब्ध गराउन कठिनाइ भोगिरहेको उहाँले बताउनुभयो ।

सञ्चार संस्था तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न विगतका गलत निर्णय र अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्ने उहाँले बताउनुभयो ।

सार्वजनिक सञ्चार संस्थासहित समग्र पत्रकारिता क्षेत्रलाई सुधारको दिशामा लैजान आफूले प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले संस्थागत बेथिति नसुधारेसम्म सार्वजनिक संस्था र पत्रकारिता क्षेत्र सुधार हुन नसक्ने बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रलाई गर्व गर्न लायक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।