जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १८:०१

देउवाको हातबाट १५ औँ महाधिवेशन उद्घाटन गर्न चाहन्छौँ : प्रदीप पौडेल


काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको हातबाट पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गर्न आफूहरू इच्छुक रहेको बताउनुभएको छ ।

काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका देउवा समूहका नेता–कार्यकर्तालाई पनि सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताउँदै पूर्वसभापति देउवालाई महाधिवेशनमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्न चाहेको उल्लेख गर्नुभयो ।

पौडेलले कांग्रेसले लोकतन्त्रको विकल्प नसोच्ने र लोकतन्त्रको पहरेदारका रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । एउटा निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले नागरिकको चाहनाअनुसार पार्टीलाई सुधार र परिमार्जन गर्दै लगिएको दाबी गर्नुभयो ।

महामन्त्री पौडेलले गगन थापा कांग्रेसको आवश्यकता बनिसकेको र आगामी दिनमा देशकै आवश्यकता बन्ने दाबी पनि गर्नुभयो ।

कांग्रेसले आफूलाई परिमार्जन गर्दै नागरिकले रुचाएको नेतृत्व पार्टीभित्र स्थापित गरेको उहाँको भनाइ थियो । १५ औँ महाधिवेशनपछि पार्टीलाई थप व्यवस्थित ढंगले अघि बढाउने उहाँले बताउनुभयो ।

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने आधिकारिक कार्यतालिका छ ।

महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका नेताहरूलाई सहभागी गराउन आफूहरूले विभिन्न निर्णय फिर्ता लिएको र आवश्यक वातावरण बनाएको पौडेलले बताउनुभयो । उहाँले कसैलाई अपमान गर्ने वा ठेस पुर्‍याउने उद्देश्य नरहेको पनि स्पष्ट पार्नुभयो ।

यता, पूर्वसभापति देउवाले भने असोज ३ गतेदेखि सुरु भएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै आफ्नो समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने बताउनुभएको छ ।