काठमाडौं, असोज ७ । नेकपा (एमाले) का केन्द्रीय सदस्य राजीव पहारीले निर्वाचनमा पार्टीलाई भएको क्षतिको समीक्षा गर्दा तल्लो तहबाट भएको गलत रिपोर्टिङलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पहारीले निर्वाचनअघि विभिन्न क्षेत्रमा हजारौँ मतको अन्तरले जित्ने दाबी गरिए पनि वास्तविक परिणाम त्यस्तो नआएको बताउनुभयो । निर्वाचनमा पराजयपछि त्यसको सम्पूर्ण दोष पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाउने प्रवृत्ति उचित नभएको उहाँको भनाइ थियो ।
उहाँले निर्वाचनअघि र निर्वाचनपछिको अवस्थाको वस्तुनिष्ठ समीक्षा तथा विश्लेषण गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
पार्टीलाई युवामैत्री, नवीन शैली र जनचाहनाअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै पहारीले अध्यक्ष ओलीले सबैलाई एकताबद्ध बनाएर कमजोरीबाट शिक्षा लिँदै पार्टीलाई अघि बढाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
पहारीले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने मागसमेत गर्नुभयो । कार्यदलले दिएका सुझाव समेटेर प्रतिवेदन आएको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्न पार्टीका सबै तह लाग्नुपर्ने बताउनुभयो ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि जारी छ । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्