जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १८:०७

एमाले बैठकमा प्रवासी नेपालीका एजेण्डा, सम्बन्ध सुधार्न भिष्म अधिकारीको जोड


काठमाडौं, असोज ७। नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. भिष्म अधिकारीले विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण ठूलो संख्यामा नेपाली विदेशमा रहेकाले उनीहरूका मागप्रति पार्टी गम्भीर हुनुपर्ने बताउनुभयो ।

विदेशमा रहेका नेपालीलाई वंशजका आधारमा नागरिकता दिने विषयमा पार्टी सकारात्मक हुनुपर्ने उहाँको जोड थियो ।

गत निर्वाचनमा विदेशमा रहेका नेपालीले घरपरिवारमार्फत स्थानीय तहसम्म प्रभाव पारेको उल्लेख गर्दै अधिकारीले त्यसको परिणामलाई ध्यानमा राखेर प्रवासी नेपालीसँग पार्टीको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारी अवसरसँगै चुनौती पनि भएकाले यसका विभिन्न पक्षबारे पार्टीले विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बसाइँसराइ र त्यसले नेपालको घरेलु राजनीतिमा पार्ने प्रभावबारे गहिरो अध्ययन आवश्यक रहेको उहाँको भनाइ थियो ।

विदेशमा रहेका नेपालीले स्थानीय तहको राजनीतिमा पार्ने प्रभाव आगामी दिनमा अझ बढ्ने देखिएकाले यस विषयमा एमालेभित्र व्यापक बहस आवश्यक रहेको अधिकारीले बताउनुभयो ।