जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १८:०८

सुधारसहितको एकता नै आजको आवश्यकता : शंकर पोखरेल


काठमाडौं, असोज ७ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र सुधार र एकता सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पोखरेलले निर्वाचनपछि पार्टीले प्राप्त गरेको परिणाम अकल्पनीय र पीडादायी भएको उल्लेख गर्दै गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनअघि प्रदेश कमिटीका अगुवा नेताबाट प्राप्त रिपोर्ट उत्साहजनक भए पनि मतपरिणाम अपेक्षाभन्दा फरक आएको उहाँले बताउनुभयो । जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्नु पार्टीको प्रमुख कमजोरी भएको उहाँको निष्कर्ष थियो ।

पोखरेलले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनमा मात्र सीमित गर्न नहुने बताउनुभयो । वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पार्टीलाई सुधार र रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुनर्गठनको बहस व्यक्ति र अध्यक्षको प्रश्नमा बढी केन्द्रित हुँदा पार्टीपंक्तिमा मनोवैज्ञानिक विभाजनसमेत सिर्जना भएको उहाँले बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीसँगको आफ्नो सम्बन्धबारे विभिन्न चर्चा चले पनि असहमतिको नाममा एकअर्कामाथि अभियोग लगाउने वा विग्रह सिर्जना गर्ने आफ्नो उद्देश्य नरहेको पोखरेलले स्पष्ट पार्नुभयो ।

एमालेसँग आफ्ना कमजोरी पहिचान गर्ने, त्यसबाट सिक्ने र आफूलाई सुधार्ने सामर्थ्य रहेको बताउँदै उहाँले आत्मसमीक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बदलिँदो नेपाली समाज, सूचना प्रविधिको प्रभाव र युवा पुस्ताको बदलिएको मनोविज्ञानलाई पार्टीले गम्भीर रूपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो । युवालाई पार्टीसँग जोड्न उनीहरूको अनुभव, अपेक्षा र भावनासँग जोडिने गरी कार्यक्रम तथा राजनीतिक शैली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पोखरेलले निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदलका सुझावसहित पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । समस्या पहिचान भइसकेकाले अब योजना बनाउनेभन्दा समाधान कार्यान्वयन गर्ने चरणमा प्रवेश गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीभित्रका बहस स्वस्थ र मर्यादित हुनुपर्ने तथा बैठकले निर्णय गरिसकेपछि त्यसलाई एकताबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टीलाई बलियो बनाउन कमिटी सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र कार्यकर्तापंक्तिमा विश्वास तथा उत्साह जगाउनुपर्नेमा जोड दिँदै पोखरेलले सुधारसहितको एकता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।