जनता टाइम्स

७ आश्विन २०८३, बुधबार १८:३७

७० वर्षे उमेरहद रामवाण होइन, एमालेलाई डिबेट क्लब नबनाऔँ : सूर्य थापा


काठमाडौं असोज ७ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने विषय पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेकाले यसलाई निरन्तर बहसको विषय बनाउन नहुने बताउनुभएको छ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने बताउनुभयो। महाधिवेशनका निर्णय र पार्टी विधि सबैका लागि बाध्यकारी हुनुपर्ने उहाँको भनाइ छ।

नेतृत्व परिवर्तनलाई मात्रै पार्टीको समस्या समाधानको उपायका रूपमा लिन नहुने बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि ‘रामवाण’ उपचारका रूपमा लिन नहुने धारणा राख्नुभयो। नेतृत्व निर्माण, पुस्तान्तरण र जिम्मेवारी हस्तान्तरणको विषय राजनीतिक प्रतिवेदनमै स्पष्ट रूपमा आएको उहाँले बताउनुभयो।

पार्टीभित्रको गुटगत ध्रुवीकरण लुम्बिनी प्रदेशको पहिलो अधिवेशनदेखि तीव्र बनेको उहाँको टिप्पणी थियो। भदौ २३ र २४ गतेका घटनाबारे एमालेले साझा दृष्टिकोण बनाउनुपर्ने भन्दै थापाले उपलब्ध तथ्य, प्रमाण तथा विभिन्न अध्ययन र प्रतिवेदनको विश्लेषण गरी सत्यतथ्य अभिलेखीकरणका लागि निष्पक्ष नागरिक छानबिनको पहल गर्नुपर्ने बताउनुभयो।

निर्वाचनको मुखमा भएको महाधिवेशनमा प्यानल बनाएर नेतृत्व चयन गर्दाको मूल्य निर्वाचनमा चुकाउनुपरेको उहाँको भनाइ थियो। यस विषयमा सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै अध्यक्षमाथि मात्रै दोष थोपर्न नहुने उहाँले बताउनुभयो।

अध्यक्ष केपी शर्मा ओलीमाथि भएको व्यवहारलाई पार्टी नेतृत्वमाथिको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने धारणा राख्दै थापाले अध्यक्ष ओली एक कदम अगाडि र उपाध्यक्ष तथा महासचिव दुई कदम पछाडि हटेर गरिएको ‘रियलाइजेसन’ले नयाँ विश्वास जागृत गरेको बताउनुभयो।