काठमाडौं, असोज ७ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ । दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
एक सय १३ यात्रु लिएर आएको जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुभएको थियो ।
नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गर्ने महाप्रबन्धक निरौलाले बताउनुभयो ।
यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन सकेका थिएनन् । फ्लाई दुबईको नियमित उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको महाप्रबन्धक निरौलाले बताउनुभयो ।
पोखराबाट दुबई हुँदै युरोप, अमेरिकालगायत विभिन्न गन्तव्यमा जाने यात्रुलाई सहज हुने र यात्राको अवधि छोटिँदा खर्चसमेत घट्ने उहाँले बताउनुभयो ।
पर्यटकीय राजधानी पोखरासहित आसपासका पर्यटकीय क्षेत्रमा घुमफिरका लागि आउने विदेशी पर्यटकलाई समेत सिधै पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुकसहित अन्य देश जाने यात्रुलाई पनि पोखरा–दुबई उडान सेवा उपयोगी हुने बताइएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई पोखरा विमानस्थलमा आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले नियमित उडान सुरु गरेको हो ।
दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो ।
अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले पोखरा विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
फ्लाई दुबईको उडान तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ । दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ ।
यसअन्तर्गत पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकी सहरमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्न सहज हुने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्