काठमाडौं, असोज ७ । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले पार्टीको भविष्य नयाँ पुस्ताले एमालेमा आफ्नो भविष्य देख्छ कि देख्दैन भन्ने विषयले निर्धारण गर्ने बताउनुभएको छ।
बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उपलब्ध तीन मिनेटको समयमा धारणा राख्दै सचिव भट्टराईले पार्टीको भविष्यबारे भाषण गरेर मात्रै नहुने भन्दै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको हो।
उहाँले बैठकमा उपस्थित नेताहरूलाई आफ्ना छोरा–छोरी, भाइ–बहिनी, नातेदार तथा वरिपरिका युवालाई पार्टीमा कति जोड्न सकिएको छ भन्ने प्रश्न आफैंलाई गर्न आग्रह गर्नुभएको छ। ‘पार्टीको भविष्यबारे भाषण गरेर मात्र हुँदैन। हाम्रो आफ्नै नयाँ पुस्ताले यो पार्टीमा आफ्नो भविष्य देख्छ कि देख्दैन-त्यसले हाम्रो भविष्य निर्धारण गर्छ,’ उहाँले भन्नुभयो।
सचिव भट्टराईले पार्टीले नेतृत्व विकास, युवा सहभागिता र नयाँ पुस्ताको प्रवेशलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नसकिए पार्टीको भविष्यबारे गरिने बहससमेत अधुरो हुने धारणा राख्नुभएको छ।
उहाँले बैठकले पार्टीको नेतृत्व तथा पदाधिकारीको कार्यकाल, जनसंगठनको सञ्चालन तथा पुनर्संरचना, उम्मेदवार छनोटको विधि, कमिटी प्रणालीको प्रभावकारिता, युवा तथा महिलाको अर्थपूर्ण सहभागिता र नयाँ पुस्ताको प्रवेश तथा नेतृत्व विकासका विषयमा ठोस निर्णय गर्नुपर्ने बताउनुभएको छ।
भट्टराईले पार्टीको आन्तरिक संरचना र कार्यशैलीलाई समयअनुकूल बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ। उहाँका अनुसार जनसंगठनलाई प्रभावकारी बनाउने, कमिटी प्रणालीलाई परिणाममुखी बनाउने तथा नेतृत्व विकासको स्पष्ट आधार तयार गर्ने विषयमा पार्टीले गम्भीर निर्णय लिन आवश्यक छ।
उहाँले नेतृत्व तथा पदाधिकारीको कार्यकालका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउँदै पार्टी सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभएको छ।
त्यस्तै, उम्मेदवार छनोटको विधि, युवा तथा महिलाको अर्थपूर्ण सहभागिता र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने विषयलाई पार्टीको आगामी कार्यदिशासँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
सचिव भट्टराईले पार्टीको सांगठनिक पुनर्संरचना र नेतृत्व विकासलाई केवल औपचारिक विषयका रूपमा नभई एमालेको भविष्यसँग जोडिएको विषयका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।












प्रतिक्रिया दिनुहोस्