जनता टाइम्स

७ आश्विन २०८३, बुधबार २०:२७

महेश बस्नेतका तीन प्रस्ताव : संसद् पुनर्स्थापना, सरकारविरुद्ध आन्दोलन र वामपन्थी एकता


काठमाडौं, ७ असोज । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको राजनीतिक हैसियत जोगाउन पुरानो प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा अघि बढाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने र विचार मिल्ने वामपन्थी दलसँग कार्यगत एकता तथा सहकार्य गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै सचिव बस्नेतले अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापनाको विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो । उहाँका अनुसार संसद् पुनर्स्थापनाबाट सरकारका कदम सच्याउने र एमालेको पुरानो राजनीतिक हैसियत जोगाउने अवसर प्राप्त हुन सक्छ ।

बस्नेतले वर्तमान सरकारको कार्यशैलीविरुद्ध एमालेले सशक्त आन्दोलनको नेतृत्व गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले सरकारको शासनशैली, जनअधिकारसँग सम्बन्धित विषय र सुशासनका कमजोरीविरुद्ध आन्दोलन आवश्यक रहेको बताउनुभएको हो । (Online Khabar)

त्यस्तै, आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै एमालेको संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने उहाँको धारणा छ । विचार मिल्ने वामपन्थी दलसँग कार्यगत एकता र सहकार्य गरेर गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ ।

बस्नेतले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्र जोड्न नहुने बताउनुभएको छ । उहाँका अनुसार पुनर्गठन भन्नाले पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार तथा जनसम्बन्ध विस्तारलाई बुझ्नुपर्छ ।

पार्टीभित्रका असहमति र विवादलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने पनि उहाँको धारणा छ । आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा सम्बन्धित पार्टी कमिटीमा बहस गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

पार्टीको आन्तरिक बहसलाई सञ्चारमाध्यमको विषय बनाउने प्रवृत्तिका सम्बन्धमा स्पष्ट आचारसंहिता बनाउनुपर्ने र आवश्यकताअनुसार कारबाहीको विषय बनाउन सकिने उहाँले बताउनुभएको छ ।

यसैबीच, एमाले कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा उहाँलाई नेतृत्वबाट हटाउने विषय प्रतिवेदनमा नराख्ने सहमति भएको बस्नेतले यसअघि बताउनुभएको थियो । राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीको एकता प्रदर्शन गर्ने तथा वर्तमान सरकारविरुद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने उद्देश्यले बोलाउने सहमति भएको उहाँको भनाइ थियो । (Online Khabar)

बस्नेतले पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै क्रान्तिकारी कदम हो भन्ने धारणा निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । नेतृत्वमा कमजोरी देखिए सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने तथा मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उहाँको भनाइ छ।