जनता टाइम्स

७ आश्विन २०८३, बुधबार २०:५५

प्रतिनिधिसभा पुनःस्थापनाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित गरौँ : हिक्मत कार्की


काठमाडौं, असोज ७ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभएको छ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज धारणा राख्दै सचिव कार्कीले अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी रहेको बताउनुभयो। त्यसअघि पार्टी पङ्क्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई केन्द्रीय कमिटी सदस्यहरूको सुझाव र पृष्ठपोषणका आधारमा आवश्यक परिमार्जन गरी स्पष्ट कार्यदिशा, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनमा लैजानुपर्ने प्रस्ताव गर्नुभएको छ।

सचिव कार्कीले भदौ २३–२४ पछिको राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितको संरक्षणलाई एमालेले महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने बताउनुभयो।

संविधान पक्षधर राजनीतिक शक्तिहरूसँग साझा विषयमा आवश्यकताअनुसार कार्यगत सहकार्य गर्न सकिने भए पनि सहकार्य र पार्टी एकीकरणलाई एउटै रूपमा बुझ्न नहुने उहाँको भनाइ छ। ‘नेकपा एमालेको आफ्नै वैचारिक, सांगठनिक र राजनीतिक पहिचानलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ,’ कार्कीले भन्नुभयो।

उहाँले पार्टीको आन्तरिक एकता, संगठनको पुनर्संरचना र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई तत्कालको पहिलो प्राथमिकता बनाउनुपर्ने धारणा राख्नुभयो। पार्टीको आत्मगत अवस्था बलियो नबनाई सडक संघर्ष वा अन्य राजनीतिक अभियान प्रभावकारी हुन नसक्ने उहाँले बताउनुभयो। ‘पहिले पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाऔँ, संगठनलाई जनतासँग जोडौँ, त्यसपछि स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण पार्टी परिचालन गरौँ,’ कार्कीले भन्नुभयो।

सचिव कार्कीले पार्टीभित्र भइरहेको अहिलेको प्रयास कुनै व्यक्ति वा समूहलाई जिताउने उद्देश्यमा केन्द्रित नभई एमालेलाई बलियो, एकताबद्ध, जनमुखी र आगामी चुनौती सामना गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो।

उहाँले पार्टी संगठनलाई थप प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्ध बलियो बनाउन सके आगामी राजनीतिक तथा निर्वाचनका चुनौतीको सामना गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो।