काठमाडौं, असाेज ७ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको वर्तमान अवस्था ‘ठिकठाक’ नरहेको भन्दै त्यसको यथार्थ स्वीकार गरेर अघि बढ्न शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेम्वाङले जनतामा पार्टीप्रतिको विश्वास र भरोसा कमजोर हुँदै गएको विषयलाई ढाकछोप नगरी आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको हो।
उहाँले सत्यलाई लामो समयसम्म लुकाउन नसकिने उल्लेख गर्दै पार्टीको अवस्थालाई राम्रो रहेको भनेर प्रस्तुत गर्नुको साटो वास्तविकता स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो। ‘हामीले यहाँ भनिरहेजस्तो हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन । हामीप्रतिको विश्वास र भरोसा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरूले त झूटको सहारा लिनु हुन्न,’ नेम्वाङले भन्नुभयो।
उहाँले क्रान्तिकारी नेता चे ग्वेभारा र माओ त्सेतुङका सन्दर्भ उल्लेख गर्दै पार्टीका कमजोरी लुकाउनु रोग लुकाउनुजस्तै हुने बताउनुभयो। कमजोरी पहिचान गरेर उपचार गर्न नसके त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने उहाँको धारणा थियो। ‘हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ। गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो, जसले अन्ततः विनाश नै ल्याउँछ।’
नेम्वाङले एमालेका अग्रज नेताहरूको त्याग र बलिदानपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै त्यस गौरवपूर्ण इतिहासलाई जोगाउन वर्तमान आन्दोलनलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो।उहाँले पार्टी र आन्दोलनलाई नयाँ पुस्तासँग जोड्न नेतृत्वले स्पष्ट मार्गचित्र अघि सार्नुपर्ने धारणा राख्नुभयो। समाज र नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टीले नयाँ बाटो तय गर्नुपर्ने उहाँको भनाइ थियो।
नेतृत्वसमक्ष विकल्प प्रस्तुत गर्दै नेम्वाङले नयाँ पुस्तालाई विश्वास गर्न आग्रह गर्नुभयो। ‘मेरो अनुरोध छ, कि समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् र हामी त्यहाँ कसरी हिँड्ने त्यो भनिदिनुहोस् । कि हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्—हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा दुनियाँलाई भन्छौँ,’ उहाँले भन्नुभयो।
नेम्वाङले पार्टीको वर्तमान अवस्थालाई यथार्थपरक ढंगले समीक्षा गर्दै कमजोरी सच्याउने र नयाँ पुस्ताको विश्वास पुनःआर्जन गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।












प्रतिक्रिया दिनुहोस्