जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार ०८:०८

आजदेखि वर्षा अझै बढ्ने, केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना


काठमाडौं, असोज ८ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ। अन्य क्षेत्रको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै वर्षा भएको छ।

लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही क्षेत्रमा समेत ठूलो वर्षा भएको छ। कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा लगायत आसपासका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रबाहेक अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि वर्षाको क्रम अझ बढ्नेछ। केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा मुसलधारे वर्षा हुनसक्ने अनुमान छ।

मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ। अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।