जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार ०८:१३

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी


काठमाडौं , असोज ८ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वासिङ्टनमा भव्य स्वागत गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनाव कम गर्ने सहमति थप भएका बेला सी अमेरिका पुगेका हुन् ।

संयुक्त राज्य अमेरिकाका वाणिज्यमन्त्रीका अनुसार अमेरिका र चीन व्यापार युद्धको विरामलाई थप लम्ब्याउन सहमत भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जोइन्ट बेस एन्ड्र्युज विमानस्थलमा सी र उनकी धर्मपत्नीलाई २१ तोपको सलामी र सैनिक ब्याण्डसहित स्वागत गरिएको थियो । स्वागत समारोहमा अमेरिकी बालबालिकाले उनीहरूलाई पुष्पगुच्छासमेत दिएका थिए ।

समारोहका क्रममा ट्रम्प र सी रातो कार्पेटमा सँगै हिँडेका थिए । ट्रम्पले सीलाई ‘महान् नेता’ भन्दै स्वागत गरेका थिए । उनले भेटलाई ‘ऐतिहासिक क्षण’का रूपमा समेत वर्णन गरेको बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा लिखित वक्तव्य जारी गर्दै सीले चीन र अमेरिका दुवै ‘महान् राष्ट्र’ भएको उल्लेख गरेका छन् । उनले दुई देशबीच प्रतिस्पर्धाभन्दा साझेदारीमा जोड दिएका छन् ।

सीले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वीभन्दा साझेदार बन्नुपर्ने बताएका छन् । चिनियाँ राष्ट्रको पुनरुत्थान र अमेरिकालाई पुनः महान् बनाउने अभियान एकसाथ अघि बढ्न सक्ने तथा त्यसबाट दुवै देशसँगै विश्वलाई समेत लाभ पुग्ने उनको भनाइ छ ।