जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार ०८:१७

कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी


काठमाडौं, असोज ८ । धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि शुक्रबार बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ।

बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ। पहिरो प्रभावित क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले लेदो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो।

कृष्णभिरमा नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। पछिल्लो पहिरोका कारण फेरि राजमार्ग प्रभावित भएको हो।