काठमाडौं, असोज ८ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ। मौसमविद्का अनुसार आजदेखि वर्षाको क्षेत्र र मात्रा अझ बढ्ने सम्भावना छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा भएको छ।
पाल्पाको बल्ड्याङगढी वर्षा मापन केन्द्रमा १२८.६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा मापन भएको छ। कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षा मापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको छ।
गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा लगायतका क्षेत्रमा पनि वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीको प्रभाव देशभर पर्ने भए पनि लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा बढी असर पर्ने सम्भावना छ। पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मै सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ।
आजदेखि वर्षाको क्रम अझ बढ्ने र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आइतबारसम्म धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहिरो तथा खोला–नदीमा बाढी आउन सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्