काठमाडौं, असोज ८ । नेकपा (एमाले)को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनलाई तल्लो तहसम्म कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा बैठकमा विशेष जोड दिइएकाे छ । अध्यक्षको राजनीतिक दस्ताबेजलाई पार्टीपंक्तिमा एउटै ढङ्गले स्थापित गर्ने प्रयास भइरहेको छ।
च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई तल्लो तहसम्म पुर्याउने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिवेदनलाई एउटै ढंगले बुझ्ने, अध्ययन गर्ने र त्यसको सन्देश पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने विषयमा बैठक केन्द्रित भएको थियो। ‘अध्यक्षको प्रतिवेदनलाई कसरी तलसम्म सम्प्रेषण गर्ने कुरालाई जोड दिइयो,’ उहाँले भन्नुभयो, ‘एकरूपतामा प्रतिवेदनलाई बुझ्ने, अध्ययन गर्ने र तल सम्प्रेषण गर्नेबारे छलफल भयो।’
एमाले सचिवालयले अध्यक्षको प्रतिवेदनलाई पार्टीभित्र एकताको आधारका रूपमा व्याख्या गरे पनि प्रतिवेदनको सन्देशलाई ‘एकरूपतामा’ बुझाउनुपर्ने आवश्यकतामा जाेड दिएकाे छ । नेतृत्वको प्रतिवेदनलाई तल्लो तहसम्म एउटै व्याख्यामा पुर्याउने अभ्यासले पार्टी र नेतृत्वको राजनीतिक दृष्टिकोणलाई थप स्थापित गर्ने देखिन्छ ।
बैठकले केन्द्रीय कमिटीमा मनोनयन गर्ने सदस्य तथा स्थायी कमिटीमा रहने नेताहरूको नामसमेत टुङ्गो लगाएको भट्टले जानकारी दिनुभयो। यद्यपि, नाम भने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएपछि मात्रै सार्वजनिक गरिने उहाँले बताउनुभयो।
यसले एमालेभित्र संगठन विस्तार र नेतृत्व संरचना निर्माणको प्रक्रिया पनि अगाडि बढिरहेको देखाएको छ।
अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीमा ‘एकताको भाव’ पैदा गरेको एमालेको निष्कर्ष छ भने प्रतिवेदनलाई तल्लो तहसम्म ‘एकरूपतामा’ बुझाउने रणनीति अघि सारिएको छ। त्यसैले एमालेको पछिल्लो बैठकले एकताको सन्देश दिएको दाबी गरिएकाे छ ।












प्रतिक्रिया दिनुहोस्