जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १४:५३

भारी वर्षाको पूर्वतयारी : देशभरका अधिकांश विद्यालय बन्द


काठमाडौं, असोज ८ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै देशभरका अधिकांश विद्यालय बन्द गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न शिक्षा विकास तथा समन्वय एकाइमार्फत आग्रह गरेको थियो। त्यसअनुसार विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना छ।

वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर स्थानीय तहसँगको समन्वयमा विद्यालय बिदा गर्न अनुरोध गरिएको हो। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई पनि असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरिएको छ।

हालसम्म काभ्रेपलाञ्चोकका बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, रूपन्देहीको बुटवल, मोरङको विराटनगर, पाँचथरको फाल्गुनन्द र फिदिम, नुवाकोटको भूमिकास्थान तथा इलामको माङ्सेबुङलगायत स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

यसैबीच, असोज १० र ११ गते सार्वजनिक बिदा रहेकाले अधिकांश विद्यालयमा लगातार चार दिन पठनपाठन प्रभावित हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको गतिविधि अझै बढ्ने र केही स्थानमा मुसलधारे तथा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै रहेकाले वर्षा बढेको हो।

भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि असोज १२ गतेसम्म लामो दूरी तथा रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।