काठमाडौं, असोज ८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको छ।
पुरानो बजार क्षेत्रमा दिउँसो साढे १ बजेदेखि आगलागी सुरु भएको हो। बाक्लो बस्ती रहेका कारण आगो फैलिरहेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा दुई वटा दमकलसमेत पुगेका छन्।
आगो नियन्त्रणका लागि जिल्लाबाट थप प्रहरी परिचालन गरिएको ताप्लेजुङका डीएसपी कमल बजगाईंले जानकारी दिनुभयो।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भइसकेको छैन।












प्रतिक्रिया दिनुहोस्